पुरानो "प्रेम-पत्र"

एक जमाना थियो, खुबै लेख्थे, अनेक लेख्थे । आजकल म ति पुराना लेखहरु हरेर मुस्कुराउछु र जस्ताको त्यस्तै यता राख्दिन् मन लाग्यो ।

(१५ डिसेम्बर २०१५ मा फेसबुकमा पोस्ट गरेको)

प्रिय मान्छे,
लेख्न मिल्थ्यो या मिल्दैन थ्यो, हजुरसँग अनुमति माग्न मन लागेन,यदि मागेको भए हजुरले नलेख भन्नुहुन्थ्यो या लेख भनेर प्रोत्साहन गर्नुहुन्थ्यो यी केही थाहा छैन मलाई, लेख्न मन लागेपछि लेखिहाल्ने बानी परेको मलाई यो लेख्दै गर्दा मनले नलेख भनेन त्यसैले लेखे, नरिसाउनु है ।

"भुइँमान्छे"
प्रिय मान्छे, कोहि मान्छेहरू भन्छन् जिन्दगी लामो छ अनि केही मान्छेहरू भन्छन जिन्दगी छोटो छ । म स्वयम् अचेल दुबिधामा परेको छु छोटो छ या लामो छ जिन्दगी, हुन त हजुर हरपल जिन्दगी लामो छ भन्नुहुन्छ, तर अचेल जुनबेला हजुर म सँग हुनुहुन्छ त्यो बेला एकदमै छिटो दौडिन्छ समय, जब म बाट छुट्टिनु हुन्छ , चल्दै चल्दैन घडिका सुइहरु । यस आधारमा म भन्न सक्छु कि, हजुरसँगै जीवन काट्न पाए भने छोटो, खुसि, रमाइलो र सन्तुष्ट हुनेछ जिन्दगी, यदि हजुर हुनुभएन् भने लामो, दुखि, निराश र उराठ बन्नेछ जिन्दगी ।

प्रिय मान्छे, चोखो प्रेम सधैं सुमधुर हुन्छ, चाहे बर्षौ बर्षको होस् या दुई दिनकै किन नहोस्, निरन्तरको सामीप्यताले हजुरको बानी परेको भए सायद समयले महत्त्व राख्दथ्यो, या त आकर्षण भएको भए समयले प्रभाव पार्दथ्यो होला तर प्रिय मान्छे म हजुरलाई चोखो माया गर्छु ।

हुनत् हजुरलाई लागिदेला कसरी मैले गरेको प्रेम चोखो भयो? तर प्रिय मान्छे म कारण वताउन नसकुला वा हजुरलाई भेटेरै बताउला, तर साच्चै मैले हजुरलाई गर्ने प्रेम चोखो हो पवित्र हो ।

प्रिय मान्छे, मेरो कुराको गलत अर्थ नलागिदियोस् । म कहिल्यै भविष्य प्रति गम्भीर भइन र हुन्न पनि । म सँग थुप्रै उदाहरण छ भविष्य सुन्दर बनाउन खोज्दा खोज्दै असुन्दर भएको, जे हुनु छ भएरै छाड्छ न कसैले रोक्न सक्छ न त कसैले छेक्न नै । हजुरलाई भविष्यको चिन्ता छ अझ हामी एकअर्काको बन्न सक्दैनौं भन्ने चिन्ता त्यसैले त पलपल भन्नुहुन्छ, हामी एक बन्न सक्दैनौं त्यसैले टाढा बनौं । तर प्रिय मान्छे, माझीले डुङ्गा तार्नै सक्दिन भनेर डुङ्गा खियाउन छाड्यो भने के हुन्छ ? एउटा बिद्यार्थी फेल हुन्छु भनेर पढ्न छाड्यो भने के हुन्छ ? अझै एउटा यात्री म शिखर चढ्न सक्दिन भनेर फर्कियो भने के हुन्छ ? पक्कै तिनीहरू असफल हुन्छन् । सफल बन्न त आत्मविश्वास चाहिन्छ, निरन्तरको प्रयत्न हुनुपर्छ त्यसपछि न सफल भइन्छ । यदि कोसिस नै नगर्ने भने को चाहिँ सफल हुन्छ र ? फेरि चुनौतीपुर्ण यात्रा छ भनेर हिड्नै छाडिदिने त ?

प्रिय मान्छे, जे नहुनु थ्यो भइसक्यो, हामी बिच भेट नभएको भए, निरन्तरको सामीप्यता नभएको भए, वा हाम्रो मनमा प्रेमका बिज नउम्रिएका भए पर्दैन्थ्यो यति बिघ्न सोच्न, हामी त शिखर चढ्ने अभिलाषा बोकेर हिडिसक्यौं हर बाधा, अड्चन फुकाउदै हिड्ने अठोट गर्नुपर्ने बेला तपाईं भन्नुहुन्छ अब छुटिउ, टाढा बनौं, अहो लक्ष्यमा हिडेको मान्छे बाटो अप्ठ्यारो देखेपछि भाग्ने हो त बिचबाटै, अहँ हुँदै हुन्न, मान्दै मान्दिन म, सक्दै सक्दिन म कारण म तपाईंलाई चोखो प्यार गर्छु, गरिरहने छु।

प्रिय मान्छे, प्रयास नै नगरि म आफुलाई कसरी असफल साबित गरौं? अहो सक्दै सक्दिन म आफुलाई प्रयास नै नगरि असफल घोषित गर्न अहँ सक्दै सक्दिन । हरेक चिजहरु एकचित्त भएर, एकोहोरो गर्न मन लाग्छ, अर्जुन दृष्टि लगाएर त्यसैले त सफल बनाउछ नि मान्छेलाई होइन र? त्यसैले प्रयि मान्छे जतिन्जेल सकिन्छ, निश्चिन्त माया गर्नुस, छुट्टिने कुरालाई भुलेर प्रेम गर्नुस् । हामी पक्का सफल बन्ने छौं यदि तपाईंमा अलिकति दृढ आत्मविश्वास बढ्ने हो भने । हामीलाई त्यस्ता गौण चिजहरुले रोक्ने छैन छेक्ने छैन । बस तपाईं अल्लि दृढ बन्न सक्नु भयो भने, फेल भइन्छ भनेर पढ्न छाडियो भने पक्का पास भइन्न कहिल्यै । त्यसैले प्रिय मान्छे फेल हुन्छु भनेर डराएर पढ्न नछोड्नु पढ्नुस पास भइन्छ । हो, मलाई निर्धक्क प्यार गर्नुस, हामी एकअर्काको हुनेे दृढ विश्वास सहित प्रेम गर्नुस्, हामीलाई दुनियाँका कुनै तागतहरुले छुट्टाउन सक्ने छैन ।

प्यारि मान्छे, भन्नू धेरै छ, लेख्नु धेरै छ, एकै पटक कहा सकिएला र? तर पनि अहिलेलाई बिदा मागे ,

उहीँ हजुरलाई चोखो प्यार गर्ने
"भुइँमान्छे"

Comments

Popular posts from this blog

आई लभ यु , डेभिड

"बा" - राजु पुडासौनी